- Back to Home »
- जुम्लाको भिआईपी यात्रा
Posted by : सिकारुकेटो
Friday 17 May 2013
कर्णाली अंचलका
करिब ३ दर्जन संचारकर्मीहरुलाई संबैधानिक सवालमा अभिमुखिकरण कार्यक्रम संचालन
गर्ने उदेश्यले २०११ सेप्टेम्बर ११ तारिखका दिन जुम्ला जाने योजना बनाईयो । जुम्ला,निक्कै सुनेको नाम र जान इच्छा लागेको ठाऊँमध्ये एक .......त्यहीँ माथी ५
जना अत्यन्तै रमाईला मान्छे । पत्रकारहरुका नेता शिव गाऊँले दाई, संबिधानबिद काशिराज दाहाल सर,यु एन डी पी कि
रेनु क्षेत्री, इक्वल एक्सेसका उपेन्द्र अर्याल सर र सगुन
बस्नेत दिदिका साथमा ..... यात्रा रमाईलो र अविश्मरणिय बन्ने कुरोमा निक्कै
विस्वस्त थिएँ .....कैले जुम्ला पुगिएला, कस्तो होला जुम्ला,
समयमै उडान भर्न पाईएला नपाईएला यस्तै यस्तै तर्कनाहर गर्दागर्दै
जुम्लाका लागी हिँडने दिन आइपुग्यो ।आफ्नै कार्यालयले हिमालय होटलमा संचालन गरेको एउटा कार्यक्रम सकाएर करिब २:४० बजे कुपण्डोलबाट नेपालगंजका लागी हिँडन त्रिभुवन अन्र्तराष्ट्रिय बिमानस्थल पुगियो.... ३ बजे उडनका लागी.....२०११ को सेप्टेम्बर ११ । आजकै दिन करिब २००१ मा अमेरिकास्थित ट्विन टावर मा जहाज ठोक्काएको दिन, त्यही दिन हामी जहाज चढदैछौं, कताकता मानसिक त्रास झल्कीन्थ्यो बाहिर ब्यक्त गर्न नसकेपनि....शिब दाई र काशिराज सर पनि आईसकेपछि र्बोिडगको प्रक्रीयाका लागी यति एयरलाइन्सको काउन्टरमा झोलाझ्याम्टा पुर्याउन लागियो....आवश्यक प्रक्रीया पुरा गरेपछि जहाज चढियो नेपालगंजका लागी ....कल्पनामा जुम्ला कल्पीँदै....भोली सोमबारको टिकट लिईएको थियो जुम्लाको लागी तारा एयरको....ताराको जुम्लाको टिकटमा जहाज चढन काठमान्डौंमा यति चढनुपर्छ भन्ने सिन्डीकेटे सिस्टम अन्र्तगत टिकट लिईएको थियो ।
करिब १ घंटामा जव
नेपालगंज बिमानस्थलमा अवतरण गरियो ...एउटा ठुलो झटका लाग्यो.....लगेजमा पठाएका सबै
सामानहरु सकुसल थिए..तर मेरो आफ्नै कपडाको ब्याग भने थिएन्, ट्याग
खोज्न थालेँ ट्याग पनि थिएन् । मलाई राम्रोसंग याद थियो...काठमान्डौंको एयरपोर्टमा
मैले मेरो कलेजी कलरको ब्याग यति एयरलाइन्सको जोख्ने भाँडामा हालेको सम्मचाहीँ
राम्रैसंग याद थियो.....र एकमुस्ट ट्याग दिएकाले गन्ने चलाखी गरिएन् त्यो बेला ।
बल्कमा ट्याग पाईयो जहाजभित्र छिरियो.....शायद ट्याग बिनाको ब्याग भेटेपछि
त्यहीभित्रका भरियाले दशैं मनाए होला । नेपालगंजमा खोजबिन गर्दा
भेटिएन...काठमान्डौ एयरपोर्टमा फोन गर्दा त्यहाँ पनि पाईएन...बिराटनगर पुग्यो कि
बुझीदिन्छ्म भन्ने खबर आयो...र आफ्नो नाम र टेलिफोन नम्बर छाडियो.....केही समयपछि
बिराटनगर पनि पुगेको रैनछ भन्ने जानकारी आएपछि अबभने पक्कै कुनै भरियाले दशैं
मनायो भन्ने ठम्याई भयो ....
४ वटा पाईन्ट (जसमध्ये २ वटा लगाईएकै थिएन, पुरा नयाँ ), ८–१० वटा टिसर्ट,
एउटा नयाँ कोट (एकपटक मात्र लगाएको त्यो पनि रेडियो कर्णालीका तुफान
न्यौपाने जी ले अलि चिसै छ सामान्य तातो लुगा ल्याउनुभए हुन्छ भनेकाले मात्र
हालेको थिएँ.......त्यो कोट हराएको सम्झेर अहिलेपनि थुकथुकि लागिरहेको छ), गंजी, अंडरवेयर, तौलिया, ब्रस, पेस्ट, सेभिङ क्रिम, रेजर, बडि
स्प्रे सबै दानै भयो .........अब साथमा लगाएको एउटा भित्री टिसर्ट,सर्ट र पाईन्ट मात्र बाँकी थियो मसंग । फेर्ने तौलियाधरि साथमा थिएन्
......तैपनि साथमा थियो जुम्ला पुग्ने तिव्र रहर....त्यही भएर कहिँ कतैं
काठमान्डौं एयरपोर्टमै वेवारिसे भेटिएर खबर गर्लान कि भन्ने झिनो आशालाई मनको एउटा
कुनोमा राखेर एकछिन नेपालगंज एयरपोर्टको चौरमा घोत्लीएँ ।
एक्कासी शिव गाऊँले दाईको साथमा काशिराज सरले लौ हाम्ले कुरा गर्यम...भोली भिम जी ले फोन गर्ने बित्तिकै एयरपोर्ट आईपुग्नपर्छ भनेको सुनेपछि मेरो घोत्ल्याईं भंग भयो । भिम जी, अर्थात भिम राई यति एयरलाईन्सको नेपालगंज प्रमुख । वहाँसंगकै कुराकानीमा ताराको समय उल्लेख नगरिएको टिकट काठमान्डौंमै किनीएको थियो .....समय कतिबजे उडाने, उडाउने कि नउडाउने भन्ने जस्ता धेरैकुरा भिम प्रभुकै महिमामा भरपर्ने हो भन्ने भित्रीकुरा बुझेकाले काशिराज सर र शिव दाईले त्यो अग्रसरता लिनुभएको थियो, क्यार्नु जमानै पहुँच र भनसुनको जो पर्यो । काशीराज सर र शिव दाईलाई अगाडी लाएपछि जुम्ला उडन पाईन्छ भन्ने ठुलो आशा जो थियो । त्यसपछि एयरपोर्टवाट त्यो रात बासबस्नका लागी नेपालगंजको Travellers Village नामको बिदेशी महिलाले चलाएको नेपाली होटलमा पुगियो...ठिंग शरिर..एकसरो लुगा...न फेर्ने केही न ओढने.....त्यही भएर बेलैमा होटलको बेडभित्र छिरियो ।
भोलिपल्ट बिहान
लगाएकै लुगामा उठियो बिहानै....त्यसपछि त्यत्तिकै जुम्ला हानीनु त भएन् भनेर सगुन
दिदिलाई सपिंगका लागी नेपालगंज बजार जाऔं भनेर आग्रह गरेँ । बिहान करिब ८ बजेतिर
बजार तिन हिनियो । जन्मेर अढाई दशक काटिसकेको मान्छे......फेरि एकपटक पुर्नजन्म
भएजस्तो लाग्यो कारण आफ्ना लागी चाहीने सबैचिज एकैपटक किन्नपर्ने । शायद ..म
जन्मनेबित्तिकै मेरा बाआमाले दंग पर्दै मेरा लागी भोटो, दौरा, सुरुवाल, गंजी, कट्टु, पाउडर, तेल सबै किनिदिएका थिए होलान् ...त्यसैगरी
आज फेरि मेरालागी इतिसबै किन्नपर्ने दिन आएको थियो......सगुन दिदि हुनुहुन्थ्यो
साथमा...शायद त्यो बेलामा मलाई परेको मानसिक पिडा दिदिले बुझ्नुभएको थियो
होला....त्यही भएर मेरो सपिंगको आग्रहलाई आत्मीयताका साथ स्विकार गर्दै वहाँ म
संगै जानुभयो.....अभिभावकत्व को उत्कृष्ट नमुना सम्झेँ मैले यसलाई.....तर वहाँलाई
भनिन् । शायद अहिले यो ब्लग पढनुभयो भने मलाई त्यो बेलामा देखाउनुभएको आत्मीयताका
लागी वहाँलाई हृदयदेखी नै धन्यवाद भन्न चाहन्छु ।
बजार गईयो, कहाँ
र के चिजबाट शपिंग शुरु गर्ने दोधारमा परियो शुरुमा त ....तर कपडाबाटै शुरु
गरियो...त्यसपछि २ वटा टिसर्ट, २ वटा पाईन्ट, २ वटा गंजी, २ वटा अन्डरवेयर, १
सेभिग रेजर, १ सेभिग क्रिम र ब्रस अनि १ बडि स्प्रे
किनियो....खासै राम्रा र मनले खाका लुगा नभेटिएकाले तत्कालिन राहतका लागी यत्ति भए
१ साता काटिन्छ भन्ने लाग्याथ्यो मनमा.....सपिंग गरेर रिक्सामा फर्कँदै गर्दा
काशिराज सरको टेलिफोन आयो......भिम जी को फोन आयो....तपाईंहरु कता हो झट्टै
आउनुहोस...१०:३० बजे एयरपोट पुग्नपर्छ......भिम जी ले डोल्पा, मुगु सबैतिरको उडान रद्ध गरेर पहिले हाम्लाई उडाउने भन्नुभएको छ । छिट्टै
आईपुग्नुस् । हाम्रो जुम्ला भ्रमण टोलीका अग्रज काशिराज सरको व्हिपलाई शिरोधार्य
गरेर हामी चढेको रिक्सा चलाउने दाईलाई अलि पेडलको चाल बढाउन अनुरोध गर्यौं ।
बास
बसेको होटल पुग्दा काशिराज सर आफ्नो झोलीझ्याम्टा बाहिर निकालेर हिँडनका लागी
तैयार भएर बस्नुभएको रहेछ...आफ्नो त के थियो र ...कुनचाहीँले उडाईहाल्यो.....तैपनि
भर्खरै किनेको १ झोला सामान उपेन्द्रसरको झोलामा हालेर निस्कियो जुम्ला उडनका लागी
नेपालगंज को राँझा एयरपोर्ट तिर...११अै बजे उडने भनिएपनि नेपालगंज
एयरपोर्टबाट उडदा करिब त्यस्तै दिउँसोको २
बजेको थियो .....
तारा एयरको ट्विनएटर जहाज.... जहाजछिर्ने बित्तिकै हप्प गर्मि भएर
ल्यायो....त्यही बेलामा अनौपचारिक कपडामा जहाजकी बिमान परिचालिका (टिसर्ट र पाइन्टमा
बिमान परिचालिका जुन अवस्थाको दर्शन गर्ने मौका यो भन्दा अगाडी मिलेको थिएन्) लाई
सगुन दिदिले बैनी गर्मी भयो हावा आउने ठाम बिग्र्या हो ? भनेर
प्रश्न सोध्दा परिचालिकाको जवाफ थियो....एकछिन् बस्नुस् न माथी पुगेपछि आफैं चिसो
हुन्छ । ओ हो ....माथी पुगेपछि चिसो हुन्छ रे...वडो दार्शनिक र सन्त्रासपुर्ण जवाफ
पो फर्काइन त नानीले । परिचालिका नानीको जवाफ सुनेपछि सन्त्राषपुर्ण हाँसो
हाँस्नुको बिकल्प थिएन् .....जहाजबाट बाहिरको मनोरम दृस्याबलोकनको संगै अगाडी
बढिँदैथियो । छेवैमा बसेका एक मित्रले जहाजबाट देखिएका बिभिन्न लोकेशनहरु
काँक्रेबिहार, कालिकोट आदी इत्यादी चिनाउँदैथिए ।
यत्तिकैमा एक्कासी फ्याट्ट जहाज तल खस्यो....सप्पैले एक्कासी जहाजको सिट समाउन
थाले.. (शायद नलडियोस भनेर होला) मैलेपनि समाएँ मनमा चिसो पस्यो..झसंग भईयो....शिब,
काली, दुर्गा, गणेश,
ब्रम्हा, बिष्णु, महेश्वर,
कुलदेबी, थानदेउता सम्झन भ्याएजति सबै देवीदेउता
अनि बुढी छोरी बा आमा सबैलाई एकैलटमा सम्झन भ्याईयो .........तर धन्न केही भएन....
लौ जुम्ला आयो आयो
.....जहाजमा कसैले कराएको आवाज आयो..नभन्दै पुलुक्क झ्यालतिर फर्केर हेर्दा त
जुम्ला सदरमुकाम खलंगा अर्थात चन्दननाथ नगरपालिकाको अत्यन्तै मनमोहक फाँट देखियो ।
जहाज एकफन्को डाँडो घुमाएर जुम्ला एयरपोर्टमा अवतरण गर्यो ...ओर्लनसाथ पत्रकार
महासंघ जुम्ला र रेडियो कर्णालीका सहकर्मी साथीहरुको न्यायो स्वागतसंगै एयरपोटबाट
बाहिरिईयो । ‘ओ हो ...कस्तो रमाईलो ठाऊँ ? फोटो खिचौं न ’ खच्याक खच्याक
खच्याक खिचियो ८ १० स्नेप फोटो ...त्यसपछि हाम्रो भारी बोक्ने भनेर उमेर
ढल्कीसकेका बृद्ध बाआमाहरु गह्रौं झोला समात्न आउँदा त ....सगुन दिदिको मन
भक्कानिसकेको थियो । हेर्दा लाग्थ्यो....उनीहरुलाई नै कसैले सहारा दिनपर्ने,
आराम गर्नपर्ने यो बेलामा.....अरुको भारी बोक्न हानाथाप गर्नपर्ने यो
कस्तो बाध्यता.....? आखिर पापी पेटकै सवाल त होला नी । बृद्ध
देखेर सगुन दिदिले सहानुभुति प्रकट गरिरहेको बेला उपेन्द्र सरले भन्नुभयो....‘हामीले यो झोलापनि बोक्न दिएनौं भने त झन उनीहरु भोकै हुन्छ सगुन । यही
हो बाध्यता र परिस्थिति भनेको......’ शायद यही कुरामा
हामी कन्भीन्स भयौं ...र आफुले बोक्न सक्ने १-१ वटा झोला आफैं बोकेर १ जना
तन्नेरीले बोक्न सक्ने बराबरको सामान ३ जना बृद्ध भरीया बा आमाहरुलाई दियौं ।
जुम्लाको खलंगा बजार,माला लगाएका हामी ६ जनाको टोली, साथमा स्थानिय पत्रकारहरु हिँडदा त सानोतिनो बटालियन नै भएको थियो बजारमा
। होटल कैलासमा वसोबास र गाँसको प्रबन्ध गरिएको थियो केही दिनका लागी....करिब ३०
मिनेटको हिँडाईपछि होटल पुगियो....
.................................................................................................................................................................
यात्रा संस्मरणका छुटाउनै नहुने अर्का
महत्वपुर्ण पात्र होटलका मुन्सी ढकाल बाजे (नाम चाहीँ बिर्षीयो) र कैलास होटलको
बसाई र उनीसंगको भलाकुसारी ........ओ हो अहिले सम्झँदापनि । सबैभन्दा रमाईला होटलका
मुन्सी ढकाल बाजे । हामी पुगेकै दिनदेखी ढकालबाजेले यति धेरै बाचाकसम खान थाले
कि....शुरुमा त लाग्याथ्यो...बाजेले खुबै खातिरदारी गर्दैछन्....बसाई सुबिधाजनक र
रमाईलै हुनेभयो । ढकालबाजे को ससुराली न्यौपाने त्यही भएर पनि मैले उनीसंग
नातासम्बन्ध जोडन थालिहालेँ....म पनि न्यौपाने...मेरो मावलीपनि ढकाल.....तपाईंसंग
त मेरो २ तिरको नातासाईनो पो पर्दोरहेछ । दंग परे बाजे.....५ रात बस्यौं हामी उनको
होटलमा.....शुरुमै पुगेकाले छानिछानि कोठो लिन त पाईयो.....तर कोठा...भन्नाको
मात्रै.....हामीले कोठाको चाबि लिएसंगै उनले २ जना मिस्त्री पनि पठाए कोठामा
तातोपानी गिजर फिट गर्नाका लागी...तर दुखको कुरो.....५ दिन बस्दा ५चैं दिन हरेक
समय ति मिस्त्री काम गरिरहेका भेटिन्थे घरी यता ठोक्थे घरि उता ठोक्थे घरी ग्यास
सिलिन्डर बोकेर आउँथे घरी ग्यासको रेगुलेटर फेर्नपर्यो भन्दै आउँथे कोठामा आफु
हुँदापनि नहुँदापनि....तर दुखको कुरो हामी बसुन्जेलसम्मपनि तिनले तातोपानि आउने
ब्यबस्था गर्नभने सकेनन्, तातोपानि त के
कुरा....राती राती आउने धाराको पानि बाथरुममा सिधै आउने, रातभरी
पानीको खोलो बग्ने बाथरुममा बिहान भएपछि त मुखधुने पानि पनि छैन् ।
तेश्रो
बिहानदेखी हुनपर्छ मुखधुने पानिको लागी पनि ढकाल जीको शरणमा पर्नपर्यो । उनको
रमाईलो बानी, १ जग पानिसंग फेरि मिस्त्री पठाउन भने
भ्याईहाल्थे । ढकाल जीको फुल तातोचिसो होटलको बाथरुम फेरि बिश्वकै अदभुत बाथरुम
होला जहाँसम्म त्यो......त्यो बाथरुम र अर्को कोठाको बाथरुम बिचको पर्खालमा गज्जबको झ्याल र कपडाको पर्दा
......ओ हो...दुई फरक फरक रुममा बसेकाहरु बाथरुमबाट बात मार्न मिल्ने.....हेर्न त
भै हाल्यो..आपदै परे पर्दा उचालेर छिर्नपनि मिल्ने....क्या बाथरुम
यार.....पारिपट्टी कोठामा उपेन्द्र सर बस्नुभएको थियो.....वहाँ र मेरो बाथरुम
बिचको झ्याललाई मैले बेसिनको ऐना निकालेर बारेको थिएँ ।
हामी गएकै दिन बिहानको
खानामा ढकाल जीले एउटा बाचा गरेका थिए.....सरहरुलाई अहिले चाहीँ भ्याईएन् भरे
बेलुका चाहीँ तिलाकर्णालीका माछा खुवाउँछु.....ओ हो कर्णालीका माछा....बिहानै मुख
मिठ्याईयो...बेलुकीको खान्की सम्झेर....तर बेलुकी आयो गयो, भोलीपल्ट
बिहान आयो गयो,पर्सी सकियो, निकोर्सि
कट्यो, ढकाल जीले तिलाकर्णालीका माछा खुवाएनन् । हिडने
अघिल्लो दिन त तिला कर्णालीको माछा खुवाउन सकिएन सरहरुलाई नेपालगंजबाट मगाम्
भन्दैथिए.....उनको यो अफरलाई सहर्ष नकारियो र भनियो भयो...नेपालगंज हामी आफैं भोली
पुग्छम...हामी त्यहीँ खाम्ला । धेरै बाचाहरु गरे ढकाल बाजेले पोलेको मकै खुबाउँछु, बारीको फर्सि र फर्सिको मुन्टा खुबाउँछु, लोकल
दाल खुवाउँछु स्याउको शुद्ध पानि खुवाउँछु....अरु पनि के के के के....तर अधिकाँश
पुरा गरेनन् ।
हामी करिब २५–२६ जनाजति थियौं
होला ....त्यस होटलमा....खुबाउने बाचाकसम धेरै गरेको तर पुरा नगरेकाले एकदिन त
ढकाल जी लाई पनि महशुश भएछ क्यार....भयंकर तनावमा थिए मित्र...र दिउँसै चढाएछन्
स्याउपानि....त्यसपछि त मित्र भर्याङबाट लडेर काण्ड । हामीलाई त झट्टै थाहापनि
भएन्.....साँझ पो ढकाल जी देखिनुहुन्न भनेर खोजबिन गर्दा त भर्याङबाट लडेर हातमा
ब्यान्डेज बाँधेर खुट्टो खोल्च्याउँदै आईरहेका.....म त लडेँ भन्दै...उनकै भनाई
अनुसार कहिल्यैपनि स्याउपानि नचल्ने ढकाल जीले तनाब भएर आजै पहिलोचोटी (पहिलोचोटी
नै हो भन्नेकुरा मैले चैं पत्याईन तपाईंहरु चाहीँ जे गर्नोस् तर हामी बसुन्जेल अरु
दिनचाहीँ उनले खाएको थाहाभएन है) २ पेग पिएका रे.....२ पेगमै भर्याङबाट फालहान्ने
साहस देखाएछन् ...वाह कत्रो आँट । जे होस्...मान्छे रमाईला थिए ढकाल जी ।
ढकाल
जीकोमा हरियो मकै खाने धोको पुरा नहुने कुरो बुझेपछि काशिराज सरले मेसो
मिलाउनुभयो....र जुम्लामा रहेको पुनराबेदन अदालतका रजिस्टार रेग्मी सर (नाम
बिर्षें) ले आफ्नो निवासमा मकै र दही पार्टीको चाँजोपाँजो मिलाउनुभयो । ओ
हो ठेकीबाटै दही.......र दाँतले दार्दै मकै ....निक्कै स्वादिलो भयो । त्यही मकै
पार्टीमा माननिय न्यायधिस ज्यु, रजिस्टार ज्यु,
सरकारी वकिल ज्यु अनि कासिराज सरबाट आएका बिभिन्न रोचक प्रसंग र कथाहरु
सुन्दा झनै माहोल रमाईलो भएको थियो ज्ञानलाभ र मित्रलाभ भरपुर भएको थियो भन्न पर्छ
उपेन्द्र सरले प्रयोग गर्ने शैलीमा भन्दा ।
साँझ पनि झपक्कै भैसकेको
थियो.......लोडसेडिगको मार त्यहाँपनि देखिन्थ्यो.....त्यसपछि रजिस्टार ज्युले भोली
गाडी चढाएर कृषी फर्म पुर्याउने र त्यहाँ बोटबाटै स्याउ र ओखर खुवाउने भन्ने अफर
गर्नुभयो.....र यसलाई सहर्ष स्विकार्दै अँधेरोमा हिलाम्मे बाटोमा खुट्टो चोब्दै
छामछाम छुमछुम गर्दै होटल आईपुगियो ।
...............................................................................................................................................................
रेग्मी सर, पुनराबेदन
अदालतका रजिस्टारले राजिकोटमा रहेको कृषी बागबानी अनुसंधान केन्द्रमा लैजाने
अघिल्लै दिनको बाचा अनुरुप बिहान करिब ८ बजेतिर गाडी लिएर आईपुग्नुभयो । जुम्ला
बजारमा सेतो सुमोमा हुईंकिँदा त अचाक्ली रमाईलो भयो त्यो पनि झ्याल छेऊको सिटमामा
बसेर । सानैदेखी मलाई गाडीमा बस्नपरे झ्याल चाहीने....झ्यालमा बस्ने भनेर सानोछँदा
ममीबुबा संग हिँडदा झगडा गरेर झ्याल छेऊमामा बसेका धेरै यात्रुलाई मैले उठाएको
थिएँ । सगुन दिदि पनि उस्तै हुनुहुँदो रहेछ..झ्याल नै चाहिने....२ जनाले २ तिरका
झ्याल ओगटीहालिम् । करिब आधा घंटाको गाडी यात्रापछि पुगियो कृषी बागबानी अनुसंधान
केन्द राजिकोट ।
राजिकोट कृषी केन्द्रका प्रमुख ज्युको आतिथ्यतामा बोटबाटै स्याऊ
टिपेर खान पाईयो साथमा ओखरपनि बोटैबाट टिपेर खाईयो । बोटैबाट टिपेको ओखर खान क्या
मज्जा....ओखरकै प्रसंगमा अर्का एक रमाईला पात्र भेटिएका थिए राजिकोटबाट फर्कँदा
जुम्ला एयरपोर्ट अगाडी ... उमेरले त्यस्तै आधा शताब्दीछेक पुगेका होलान.....स्याऊ
र ओखर बेच्न बसेका थिए छेवैमा उनकी श्रीमतीपनि थिईन् । स्याउ ३० रुप्पे किलो र ओखर
१५ रुप्पे किलो रहेछ । स्याउ कम फल्न थालेर भाऊ बढेको हो नत्र पोहर सम्म त ५–७ रुपैंया किलो हुन्थ्यो भन्ने कुरा पनि थाहा पाईयो । भाऊ सोधेर शुरु
गरिएको उनीसंगको वार्तामा हुँदाहुँदा उनले घरैमा रोपेको ओखर फलाएर बेच्न ल्याएको र
त्यसको बिरुवा चाहीँ काठमान्डौंमा पशुपतिशम्शेर राणाको बगैंचाबाट ल्याएर उनका बा
ले रोपेको धरी भन्न भ्याए ।
त्यसपछि एयरपोटै अगाडीको कमला दिदिको होटलमा चिया
खाईयो,मकै खाईयो र अन्त्यमा अंगेनामा समोसा पनि पोलेर
खाईयो । त्यसपछि भोलीपल्ट बिहान सबेरै बिहानी हिडाई अर्थात मर्निङ वाकका लागी
कर्णाली टेक्नीकल स्कुल जाने भन्ने कुरो भयो, बढीमा
आधाघंटामा पुगिन्छ बजारबाट भन्ने कुरा भएपछि झिसमिसेमै उठेर जानका लागी तम्तयार
भएर हिँड्यौं । ६–७ जनाको टोली भएपनि हिँडने क्रममा हाम्रो
पाईला चलाई अलि सुस्त भएकाले काशिराज सर,शिव गाऊँले दाई र
रेणु जी र रेग्मी रजिस्टार सरले हामी लाइृ निक्कै पछाडी छाडिसक्नुभएको थियो ।
आधाघंटामा त के पुगिन्थ्यो.....कसोकसो कनिकुथी गर्दै १ घंटामा हामी पुग्यौं । हामी
पुग्दा काशिराज सरहरु घुमिवरी बाटामा फर्किसक्नुभएको थियो....र हामीलाई काशिराज
सरले भन्दैहुनुहुन्थ्यो ‘फर्कम फर्कम..केही रैनछ....म केही बर्ष आएको भन्दा त अहिले भताभुङ्ग भै
सकेको रहेछ ।’ अरेबाबा...वहाँले पो पहिल्यै नै
पुगिसक्नुभएको थियो र तुलना गर्दैहुनुहन्छ त ..हामी त पहिलो चोटी त्यहाँ पुग्न
लाग्दैछौं...अब यत्रो हिँडेर यहाँसम्म आईपुगेपछि अब छेवैमा देखिएको टेक्नीकल स्कुल
परिषरपनि नछिरी फर्कने कुरो पनि कहीँ हुन्छ त भन्ने प्रश्न मनमा आयो,त्यही भएर हामी ३, म, उपेन्द्र सर र सगुन दिदि काशिराज सरहरुलाई फर्कने अग्रता लिँदै गर्न आग्रह
गरेर अगाडी बढ्यौं ।
कर्णाली अंचलका युवाहरुलाई प्राबिधिक सीप सिकाउने उदेश्यले
२०३७ सालमा खुलेको रहेछ त्यो टेक्नीकल स्कुल । ३ दशक पार गरिसकेको यो स्कुलका धेरै
उत्पादनहरु नेपालका मुख्य मुख्य ठाऊँमा महत्वपुर्ण योजनाकारको रुपमा काम गरिरहेको
भन्नेकुरा स्कुल परिषरमा भेटिनुभएका एक कर्मचारीबाट थाहा भयो...तर अहिलेको
स्थितिमा यो स्कुल प्रतिको आकर्षण घट्या हो कि भन्ने भान चाहीँ हामिलाई पनि भएको
थियो...खासगरी माओबादी द्धन्दपछि यो स्कुलललाई सहज रुपमा संचालन गर्न केही कठिनाई
भएको पनि हामीले त्यस ठाऊँका केही कर्मचारी तथा बिद्यार्थीबाट जानकारी पायौं ।
जुम्ला बसाईकै क्रममा किडार्कले संचालन गरेको रेडियो कर्णाली,जसले जुम्लाबासीलाई संचारको पहुँचमा पुर्याउन ठुलो योगदान गरेको थियो,त्यहाँ गईयो । जुम्लाजस्तो ठाऊँमा बसेर सिमित श्रोत साधनका बिचमा रेडियो
संचालन गर्नु र त्यसमा पनि दत्तचित्त भएर काम गर्नु त्यस रेडियोका संचालक र
रेडियोकर्मीहरुको उत्साहलाई सलाम गर्दै स्थानिय महिलाहरुको अग्रसरतामा भर्खरै
खुलेको रेडियो नारी आवाज पनि पुगियो ।
हेर्दाहेर्दै ५ दिनपनि बितेछ, फर्कने बेला पनि आएछ.....बिमानस्थलमा अलि चाँडै आईपुगियो...बिमानभन्दा...केही घंटा त्यहाँ बिमान कुर्ने क्रममा बिमानस्थल प्रमुखसंग कुराकानी गर्ने मेसो मिल्यो...कुराकानीको प्रसंग काशिराज दाहाल सरले नै कोट्याउनुभयो....‘अस्ती हामी आउँदा एकठाऊँमा जहाज यस्सो तल खसेको थियो, यो जानाजान हो कि आफैं भएको ?’ काशिराज सरको प्रश्न भुईँमा खस्न नपाउँदै बिमानस्थल प्रमुखको जवाफ आयो ‘त्यो जानाजानी गरेको हैन, एयर प्रेशरले आफैं हुन्छ, र कहिलेकाहीँ त्यसमा कन्ट्रोल गर्न सकिएन भने जहाज दुर्घटनामा पर्छ ।’ यति कुरा के सुनिएथ्यो...आफुलाई त सु आउला जस्तो भयो.....तैपनि ठुलाबडाको कुरा सुन्नपर्छ भन्ने बाको अर्ति लाई मनन गर्दै लागेको सु चेपेरै गफ सुनियो, हाकिमसापले बिमान दुर्घटनाका फेरिहस्त सुनाउन थाले , अस्ती भर्खर ताराको जहाज त्यहीँ माथीको डाँडामा ठोक्कीएको,यतिको जहाज उ त्यहाँ पर खसेको ...आदी इत्यादी । हाकिमसाबको कुरा सुन्दैजाँदा त मन भारी भएर आयो...कारण हामीपनि ताराकै जहाज पर्खेर बसेका थियौं ।
करिब ३ घंटाको कुराईपछि
ताराको ट्विनएटर आईपुग्यो । हामी चढ्यौं र करिब आधा घंटापछि नेपालगंज झर्यौं ।
नेपालगंजबाट साढे ५ बजेको काठमान्डौको उडान थियो ...२ घंटाजति समय थियो त्यहिभएर
नेपालगंजको सेकुवा चाख्ने कुरा भयो...र त्यहाँबाट नेपालगंज तिर हानिने कुरो
भयो...नेपालगंज जाने तरखर गर्दागर्दै एयरपोर्टमा रहनुभएका सहीसापले
सोध्नुभयो..तपाईहरु कहाँ हिँडन लाग्नुभएको ? मलाई
आश्चर्य लाग्यो..किन सोध्या होला ? केही गडबड पो छ कि
भनेर....तर सही सापसंग बुझ्दा २ जना भिआईपीहरु शिब दाई र काशिराज सर हामीसंगै
भएकाले वहाँले रिपोर्टिग गर्नुपर्ने रहेछ.....मैले दिएको जानकारी अनुसार हामी
चढेको ट्याक्सी सहित वहाँले आफ्नो माथिल्लो निकायलाई रिपोट
गर्नुभयो..रोजर..ट्गाङगो बाईट ...रोजर..गाडी नम्बर ...मा धम्बोजी चौक सेकुवा खान
टोली मुभ गरेको छ.....ओ हो..रमाईलो लाग्यो...त्यसपछि नेपालगंजको हाम्रो सेकुवा
घरमा सेकुवा खाएर टोली करिब पौने ६ बजे काठमान्डौं फक्र्यो । रमाईलो जुम्ला
यात्राको ५ दिन सहजै एवं रोमान्चक रुपमा यतीछिटो सकियो कि यो बिचमा लगेज हराएर
भएको सारा तनावहरु भुलियो....
अन्तमा फर्कनेबेलामा हाम्रो जुम्ला बसाईमा सहयोग र
सदभाव देखाउनुहुने माननीय पुनराबेदन अदालतका न्यायधिश ज्यू,रजिस्टार
ज्यू, रेडियो कर्णालीका तुफान जी र गोरख जी एवं
सहकर्मीहरु, कृषी बागबनी केन्द्र रामघाटका कर्मचारी
मित्रहरु, जुम्लाका संचारकर्मी साथीहरु, सिडीयो साप, बिमानस्थल प्रमुख ज्यु, स्याउ बिक्रेता साहुजी,समोसा पोलेर
खुवाउने होटल साहुनी कमला दिदि, कैलाश होटलका ढकाल
बाजे,यति एयर नेपालगंजका प्रमुख भिम राई लगायत नाम
उल्लेख गर्न छुटेका अरु केही मित्रहरुलाई समेत मुरीमुरी धन्यबाद दिँदै त्यहाँबाट
फर्किईयो ।