- Back to Home »
- सामाजिक संजाल vs असामाजिक ब्यवहार
Posted by : Anonymous
Sunday 14 April 2013
सन्दर्भ : विश्व ब्लगर्स दिवस मे २
केही दिनअघि फेसवुकको भित्तामा सूचना तथा संचार मन्त्रालयको नामबाट लेखिएको एउटा सरकारी बिज्ञप्ति पोष्ट भयो र विस्तारै विस्तारै त्यसले विभिन्न सामाजिक संजालहरु नै भर्यो । सूचना मन्त्रालयको लेटरहेडमा छापसहित सूचना तथा संचारमन्त्री माधव पौडेलले हस्ताक्षर गरेको एउटा सूचना थियो त्यसमा । सूचनाको आशय फेसवुकको माध्यमवाट राजनितिक नेताहरुलाई असभ्य भाषाशैली प्रयोग गरेर गाली गरेको र फोटाहरु पोष्ट गरेको कारणले २०७० बैसाख १ गतेवाट नेपालमा फेसवुक बन्द गरिने भन्ने खालको थियो ।
यो पोष्टले सामाजिक संजालहरुमा एकखालको तरंग नै उत्पन्न गरायो । विश्वाश नगरौं त मन्त्रीको हस्ताक्षर र मन्त्रालयको छाप सहित विज्ञप्ति आएको छ । विश्वास गरौं त, अरु नै विषयलाई प्राथमिकता बनाएर भर्खरै आएको वर्तमान सरकारले यस्तो निर्णय गरेर के सन्देश दिन खोजेको होला? कतै संचार नै संसार भईरहेको यो स्थितिमा यसप्रति अनुदार हुन खोजेको संकेत त होईन? यो दुविधा र अन्यौल निक्कैवेरसम्म रहिरह्यो । अहिलेसम्म आइपुग्दापनि त्यो पोष्ट संचारमन्त्रालयको आधिकारिक होइन, फेक अकाउन्टबाट पोष्ट भएको भन्नेसम्मको जानकारी बाहिर आएपनि सरकारी छाप र मन्त्रीको हस्ताक्षर चोरेर यो हदसम्मको अफवाह फैलाउने काम गर्ने ब्यक्तिको हो भन्ने पत्ता लागेको छैन् । अनि पत्ता लागि हालेपनि के कारवाही हुन्छ? कारवाही हुन्छ या हुन्न भन्ने पनि अन्यौलमै छ ।
अर्को एउटा प्रसंग, केहीदिनअघि मलेसियामा नेपालीहरुको हत्या भएको भन्ने एउटा खबर सनसनीको रुपमा बाहिर आयो । त्यो खबरपनि त्यति पुष्टी नहुँदै केहीदिनपछि फेसवुक, ट्विटर लगायतका सामाजिक संजालमा मलेसिया घटनामा मारिएका नेपाली भन्दै हैटीमा भुकम्पका कारण मरेका स्थानिय ब्यक्तिहरुको विभत्स तस्विर पोष्ट गरियो । मानवीय संवेदनशिलताको समेत ख्याल नगरी पोष्ट र ट्याग गरिएका यस्ता तस्विरहरु सामाजिक संजालका भित्ताहरुमा छ्याप्छयाप्ती हुन थालेपछि धेरैले आफ्नो वालमा लेखे : यस खालका तस्विरहरु ट्याग गर्ने वा पोष्ट गर्नेलाई सिधै ब्लक वा अनफ्रेण्ड गरिनेछ । धन्य, यसले कुनैपनि किशिमको सामाजिक सन्तुलन खल्बलाउन नपाउँदै गलत तश्वीरलाई गलत ब्याख्या गरि पोष्ट भएको भन्नेकुरा सामाजिक संजालको सयर गर्ने प्रायः सवैले थाहा पाए ।
यी दुई भर्खरै वाहिर आएका प्रतिनिधि घटनाहरुमात्र हुन् । सामाजिक संजालको बढदो उपयोग संगसंगै आम नागरिकमा यसको पहुँच त बढेको छ नै । आजभन्दा करिब १२ बर्षअघि सन २००० मा कुल ३५००० मात्र इन्टरनेट प्रयोगकर्ता भएको नेपालमा हाल नेपाल दुरसंचार प्राधिकरणको तथ्यांक अनुसार ५८ लाख ९१ हजार ५ सय ८६ जना इन्टरनेट प्रयोगकर्ता छन् जुन जनगणना २०११ अनुसार कुल जनसंख्याको २२ दशमलव २३ प्रतिशत हो । । तर यो वृद्धीसंगै यसभित्रका विकृतीहरुपनि मौलाउँदै गइरहेको छ । हात हातमा मोवाइल र मोवाईल मोवाईलमा इन्टरनेट पहुँच होइदिनाले कतिपय दुषित मानसिकता बोकेका मानिसहरुले यसको दुरुपयोग गर्ने, गलत तस्विरहरु तथा सन्देशहरु पोष्ट गर्ने, तस्विरहरुलाई बिगारेर तथा अश्लील बनाएर प्रस्तुत गर्ने, झुन्डिएका, मरेका, काटिएका जस्ता विभत्स तस्विरहरु राख्ने, क्रुर एवं वर्वर किसिमका भिडियोहरु युट्युव मार्फत अपलोड गर्ने, आफुलाई पूर्ण जानकारी नभै सुनेकै आधारमा ‘स्वघोषित न्युज ब्रेकर’ झैं बनी सूचनाहरु ब्रेक गर्ने जस्ता विकृतीहरुले सामाजिक संजालहरु ग्रस्त हुन थालेका छन् ।
तर यसको अर्थ, गलत कामका लागी मात्रै सामाजिक संजालको प्रयोग भैरहेको छ भन्ने कुरा चाहीँ हुँदै होइन । सामाजिक संजालको माध्यमबाट यति धेरै समाज हितका कामहरु हुन थालेका छन् कि जसको प्रशंशा जति नै गरेपनि कम हुन्छ । सामाजिक क्षेत्रमा सक्रिय नेपाली चेलीहरु अनुराधा कोइराला र पुष्पा बस्नेतलाई सिएनएन हिरोको उपाधी दिलाउने क्याम्पीयनमा होस् या हेल्प नेपाल नेटवर्कको परोपकारी अभियानमा, टिएफसी नेपालको स्वयंसेवी सामाजिक सेवाको अभियान होस, या बुक फर भिलेज क्याम्पियनको ग्रामिण सामुदायिक बिद्यालयलाई पुस्तक पुर्याउने अभियान होस् ।आइब्लड नेपालको रक्तदान अभियान होस् तथा संकल्पको हाम्रो ब्लड अभियान या नेपाल युनाइटस् र अकुपाई वालुवाटार जस्ता सामाजिक दवाबमुलक अभियानहरु हुन्, या त मेरोरिपोट डट नेट जस्तो नागरिक पत्रकारिता प्लेटफर्म हुन् या मिडियामन्च जस्ता पत्रकार सवाल केन्द्रीत प्लेटफर्म होस्, यस्ता धेरै सत्कार्यहरुका लागी सामाजिक संजालहरुको उपयोग हुन एवं स्वयंमा सामाजिक संजालकै रुपमा समेत विकास हुनथालेको छ । जुन अत्यन्तै सकारात्मक एवं प्रसंसायोग्य सवाल हो । सामाजिक संजालहरुलाई नकरात्मक एवं भ्रामक दुस्प्रचारका लागी प्रयोग गर्नेहरुलाई दुरुत्साहित गर्नका लागी पनि यसखालका सकरात्मक अभियानहरुलाई थप ब्यापकता दिन जरुरी छ ।