Widgets

Posted by : सिकारुकेटो Sunday 29 March 2015


उज्यालो अनलाइनका लागि पवन न्यौपानेबाट लेखिएको यात्रा संस्मरण ।
उफ ऽऽऽऽऽऽऽ..................घुप्लुक्कै डुबेँ म .........
बुलुक बुलुक बुलुक बुलुक कर्णालीको पानी माथि आयो, म भित्र डुब्दै गएँ । पौडिन आउँदैनथ्यो, टेक्न खोज्छु टेकिन्न, समाउन खोज्छु कतै समाईंदैन । पुरै निस्पट कालो कालो बाहेक केही देखिन । पानी पिउन थालिसकेको थिएँ । ओहो ऽऽऽऽऽऽऽऽऽ सोचेँ अब म गएँ । छोरी र बुढी सम्झेँ । तर धन्न ! ठूलो काल पन्छाएर पुर्नजिवन पाएको महसुस गरेँ । भाग्यमानी छु म शायद ! आज यो अनुभव यहाँ कोरेर सुनाउन पाइरहेको छु । यदि त्यो घटना ठूलो दुर्घटनामा परिणत भैदिएकोे भए आज यो बेला यी शब्दहरुका सट्टामा मेरा स्मृतिहरुमात्र तपाईंसामु हुने थिए । 
२८ फागुन २०७१, बिहीबारको दिन । कार्यालयले एफएम रेडियोकर्मीहरुको लागि आयोजना गरेको तालिमको सिलसिलामा कैलाली जिल्लाको कर्णालीतटमा रहेको चिसापानी पुगेको थियो हाम्रो टोली । सबिन, संघर्ष, अनु, रमा, केपी, मदन, मनोज दाइ अनि म गरी ८ जना थियौं हाम्रो टिममा । हामी बाहेक मध्य र सुदुरपश्चिमका बिभिन्न जिल्लाका १८ जना सहभागीहरु पनि थिए । 
नयाँ साथीहरु भेट्दा जति रमाईलो लागेको थियो त्यो भन्दा बढि रमाईलो आफ्नै बेगमा बगेको त्यो कर्णालीलाई हेर्दा लागेको थियो । मध्यपश्चिम र सुदुरपश्चिमको बीचमा बगेको कर्णाली नदीको पुल तर्दै गर्दाको पहिलो दिन नै हाम्रो योजना थियो, कर्णाली नदीको तिरमा जाने, खुट्टा डुबाउने, पौडी खेल्ने, फोटो खिच्ने । चिसापानीमा हामी बस्ने होटेलमा रातको १० बजे पुग्दा यहि सोच्दै भोलीको सूर्यको पहिलो किरणलाई भेट्ने वाचा गर्दै लागियो आ–आफ्नो बिछ्याउनातर्फ ।  सायद थाकेर होला, मिठो निन्द्रा प¥यो र भोलीपल्ट अलि ढिलै उठिएछ । तालिमको पहिलो दिन नजिकै बगेको कर्णालीलाई बेवास्ता गर्दै, लाग्यौं हामी कामतर्फ । पहिलो दिन निकै व्यस्त भईयो, साँझ झण्डै ६ बजे त्यो दिनको सेसन सकियो । आउँदादेखिको कर्णाली किनारमा जाने सपना त्यो दिन पुरा भएन् ।  
बैनी संघर्षले आग्रह गरी ‘दाइ, त्याँ किनारमा जाम न, फोटु खिच्ने क्या !’ 
‘भोली जाम्ला है’ मैलै पक्का गरेपछि उ मख्ख पर्दै आफ्नो कोठामा गई । अनि हामी पनि लाखापाखा लाग्यौँ । 
तालिमको दोश्रो दिन, सहभागीहरु ब्यवहारिक ज्ञानका लागि अडियो लिन फिल्ड गए । नयाँ ठाउँ, नयाँ वातावरण, नयाँ परिवेश, नयाँ रहनसहन, नयाँ मानिस, नयाँ जिवन ! यी सम्झनाहरुलाई सकेसम्म बढी क्यामरामा कैद गर्न हामी सबै लालायित थियौं । भेटिएका र देखिएका हरेक साक्षीहरुलाई आफूसँगै खिचाउने रहरको भरमग्दुर उपभोग हामीले गरिरहेका थियौंं । 
आज बचेको यो अलिकति समयको भरमग्दुर उपभोग गर्ने योजना बन्यो सबिन र म बिचमा । 
‘क्यार्ने त ?’ मैले भनें । 
‘कर्णालीमा नुहाउन जाउँ ।’ सबिनको जवाफ आयो । 
तुरुन्तै सहमति दिएर लाग्यौं हामी कर्णालीको तीरतिर । सहकर्मी अनु पनि क्यामरा लिएर हाम्रैसाथ लाग्नुभयो । जाने भनेर ओर्लिसकेका मनोज दाइ फेरि कोठामै फर्के । हामी अघि बढ्यौं नदी किनारतिर । ४ दिन भैसकेको थियो त्यहाँको कर्णाली तीरको सिद्धार्थ रिसोर्टको बास । यसअघि आक्कलझुक्कल केहीघण्टा बिताएपनि त्यो ठाउँमा यति लामो समय बिताउन पाएका पहिलोे क्षण ! केही फोटोसेसनका सत्रहरु भए ।
त्यसपछि अनु अलि परतिरै बस्नुभयो, अनि सबिन र म अलिपर गएर खोला किनारमा चोबलिन थाल्यौं । मलाई पौडी फिटिक्कै आउँदैन्, कहिल्यै सिक्ने प्रयास पनि गरिएन, सबिन पौडीमा सामान्य अनुभवी । म किनार किनार चोबलिए सबिन केही परसम्म पुग्यो । जे होस् करिब १ घण्टाजति त्यहाँ नुहाउँदा रमाइलो भयो । त्यहाँबाट निस्केर किनारमा रहेको कर्णालेश्वर महादेवको मन्दिर दर्शन गरियो, त्यहाँ फेरि फोटोसेसनको अर्काे श्रृंखला भयो । 
मन्दिर फोटो खिचाएर फर्किसकेपछि सहकर्मी बैनी संघर्षलगायत साथीहरु फिल्डबाट फर्किसकेका रहेछन् । सबिन र मैले उनीलाई ‘जलाउन’ हाम्ले खिचेका फोटा देखायौं । थाहा थियो, उनले फेरि त्यहाँ जान जिद्दी गर्छिन्, र गरिन् पनि । त्यसपछि संघर्षलाई लिएर सबिन र म फेरि कर्णालेश्वर महादेब मन्दिरतर्फ गयौं, साथमा मनोज दाइ, केपीलगायत पनि थपिए । मन्दिरको फोटो सेसनपछि नदीतीरमा पुगियो । मनोज दाइ, सबिन, केपीहरुले फोटो खिचाइरहेका थिए । तटमा ढुंगामा बाँधिएको एउटा काठको डुंगा थियो । केपी, मनोज दाइ र सबिनले त्यहाँ पोज दिन भ्याइसकेका थिए । हामी नी के कम ? त्यही डुङ्गामा बसेर फोटो खिच्न गयौं । संघर्ष छिर्नै लागेकी थिईन् । मैले ‘पख म पैला खिचाम्छु, अनि तिम्रो खिच्दिन्छु’ भनेँ । 
त्यसपछि म किनारामा बाँधिएको त्यही डुंगामा चढेँ, पल्लोकुना पुगेर टुक्रुक्क बसेको मात्र के थिएँ, हावा चल्यो, डुङ्गा हल्लिनथाल्यो । 
‘ओइ भाइहरु किनार पट्टीबाट समाउ समाउ, लड्न लाग्यो’ पारी रहेका २ जना केटाहरुलाई मात्र के भनेकोँ थिएँ, डुङ्गा घोप्टिहाल्यो । म पानीमा उत्तानो परेँ । 
संघर्ष ‘दाइ, दाइ’ भन्दै थिई, म घप्लक्कै डुबे । 
त्यसपछि...........................उफऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ अहिले सम्झँदा पनि कहाली लागेर आउँछ । १० सेकेण्डको लागि त म पूरै पानीभित्र डुबेँ । पौडिन आउँदैनथ्यो, टेक्न खोज्छु टेकिन्न, समाउन खोज्छु कतै समाईंदैन । पुरै कालो कालो बाहेक केही देखिन । पानी पिउन थालिसकेको थिएँ । ओहो ऽऽऽऽऽऽऽऽऽ सोचेँ अब म गएँ ।
छोरी र बुढी सम्झेँ । त्यहीबेला अचानक दिउँसो सबिनसँग नुहाउँदा पौडनेहरुले हात फैलाउँदै पौडेको मेरो मानसपटलमा कताबाट आयो । त्यसैगरी हात फैलाएँ, धन्न, यो पटक डुंगाको एउटा पाटो समात्न सफल भएँ । तापनि भुईंमा टेक्न खोज्छु, भुईं भेटिँदैन, डुंगामा समाएको छु डुंगा आफैं पानीतिरै आउँछ । 
थाहा छैन्, त्यो बेला को आइपुगेर किनारबाट डुंगा ताने र म निस्किएँ त्यहाँबाट .....धन्न बाँचें भन्ने लाग्यो.....केही क्षणअघि मात्र दर्शन गरेको कर्णालेश्वर महादेवले बचाउनुभयो भन्ने ठानेँ । ठूलो काल पन्छाएर पुर्नजिवन पाएको महसुस गरेँ । कर्णालीमा डुबेको चस्मा र बगेको चप्पल त्यहिँका भाइहरुले पौडेर निकाल्दिए । त्यहाँबाट निथ्रुक्कै भिजेको कपडासँगै ट्राउजर भित्र पानीसँगै तैरिरहेको मैले बोकेको मेरो र संघर्षको मोबाइल फोन अनि मेरो वालेट लिएर माथि होटलमा उक्लेँ । 
‘मेरो मोबाइल कर्णालीको पानिमा खसेर डुब्यो ।’ बुढीलाई फोन गरेर यति भनेपनि आफु डुबेको कुरा भनिँन ।
एकैछिन् साथीहरुसँगै बसेँ, उनीहरुका गफमा ध्यान केन्द्रित गर्न खोजेपनि केही बुझ्नै सकिँन । यसअघि पनि त्यही ठाउँ वा त्यही आसपासमा फोटो खिचाउन गएका मान्छेहरु डुबेर मरेको घटना बारम्बार भएको रहेछ ! 
‘दिउँसो किनारामा बस्दा लुगाधुने महिलाहरु कुरा गर्दैथे’ अनुले भन्दै हुनुहन्थ्यो ‘यही ठाउँमा फोटो खिच्न उभिएको एकजना बिद्याार्थी डाक्टर केहीदिन अघि चिप्लेर बिते, पौडी खेल्नै आका खै कहाँका केटाहरुलाई नि बगायो । यो खतरनाक ठाउँ हो ।’ 
सबिनले थप्यो, ‘दिउँसो पौडी खेल्दा नी म एकचोटी झण्डै डुबेको ! कन्ट्रोल नै भएन तर डराउँछ भनेर मैले भनिंन् ।’ 
मेरो मानसपटलमा त्यही म डुबेको क्षण, कालो अँध्यारो मात्र आईरह्यो । साँझपनि पर्‍यो, कोठामा गएँ । मनमा अनेक तर्कनाहरु आए । साँच्चै आज म डुबेर मरेको भए ?????????? के हुन्थ्यो होला ?
छोरी सम्झेँ फेरि, एक्लै रोएँ, निक्कैबेर....त्यो क्षणबाट म आफूलाई जतिजति टाढा लान खोज्थेँ, उत्तिउत्ति त्यही पलले झस्काउँथ्यो मलाई । छोरी र बुढीलाई एकै अंगालोमा बाँधेर रुन मन लाग्यो, धेरै मिस गरेँ मैले उनीहरुलाई.......।  एकैछिन अगाडीको त्यो रमाइलो पलहरु मेरा साथी, सहकर्मीहरुका लागि म स्मृतिमात्र भैदिएको भए ?????? के हुन्थ्यो होला ? बिहानमात्र फोनमा बुढी र छोरीलाई ‘म बेलुका फोन गर्छु है’ भनेपछि उनीहरुको मेरो बेलुकाको फोनको कुराइ, कुराइमै सिमित भएको भए, के हुन्थ्यो होला ? यस्ता अनेक तर्कनाहरु आए......यो कुराबाट हटन जत्ति प्रयास गरेपनि सकिन । 
रक्सीको सहारा लिएँ, अरु दिनभन्दा बढी नै पिएँ, तर अहँ मलाई कत्तिपनि छोएन....बिहानको करिब साढे ३ बजेसम्म निदाउन सकिन । लाग्यो, मृत्यु जितेर फर्के आज ! धन्य कर्णालेश्वर महादेब ! धन्य मेरा सहृदयी, मेरा शुभचिन्तक अनि मेरो परिवार, जोसँगका रमाइला धेरै पलहरु अझै जिउन बाँकि छ, त्यसैले आज लगिसकेको कालले पनि मलाई लगेन । हो मृत्यु जितेर फर्के आज ! फर्के म !    साभार : उज्यालो अनलाइन 

Leave a Reply

Subscribe to Posts | Subscribe to Comments

LIKE PLEASE.....

LIKE PLEASE.....
तपाईंको एक क्लिकले बिजेता बन्नसक्छ । त्यसैले कृपया माथिको फोटोमा क्लिक गरेर फोटो खोलेर (ओपन गरेर) फोटोमा लाइक गर्दिनुहोला ।

दम्पति

दम्पति
हामि जोइपोइ

धानखेतमा बाउसे गर्दै

धानखेतमा बाउसे गर्दै
असार १५ / २०७० गोलढुंगा, काठमाण्डौं

Creativity in Journalism

Creativity in Journalism
Picture published on the news of republica daily of 13 July,2013 about the training 'Creativity in Journalism organised by British Council on 8-12 July,2013

ललिता

ललिता
सुनसरीबाट प्रकाशित न्युजडटकम साप्ताहिकमा छापिएको मेरो कथा ललिता

सिकारुकेटो को हो ?

मेरो वारेमा ? मतलब म को हुँ ? निक्कैबेर घोत्लायो यो प्रश्नले । मेरो परिचय के ? गारो भयो यसको जवाफ दिन । चित्तबुझ्दो जवाफ नआउन्जेल सम्मको लागी उही सबैले दिने खालको परिचय दिँदैछु । वाआमाले राख्देको नाम पवन । थर न्यौपाने । जातले बाहुन (जुन म मेरो इच्छाले भएको हैन तैपनि हेपिनु परेको छ कतिपय अवस्थामा)ट्विटरमा @Shikaruketo सिकारुकेटो भनेर चिन्छन् मित्रहरुले । मोरंगको टंकिसिनुवारी (विराटनगर)हो मेरो घर। पेशाले रेडियो र मिडिया कन्टेन्टलाई कार्यक्षेत्र बनाएर हिँडेको ७० सालमा १० बर्ष पुगेछ । काठमाण्डौंमा डेरामा बसेर एउटा मिडियामा काम गर्ने गैससमा काम गर्छु । त्यहीँ पाएको पारिश्रामिकले आफु, श्रीमती र १ छोरीको जेनतेन गुजारा चलाएको छु । घुमफिर गर्न,नयाँ मान्छे भेटन, नयाँ कुरा सिक्न औधी रहर छ । हिँडदा, भेटदा, देख्दा समेटेका अनुभव अनुभुति एवं क्रियाप्रतिक्रियालाई कहिलेकाही यही ब्लगबाट शेयर गर्छु । यत्ति नै हो मेरो परिचय,रुची, इच्छा र अनुभव ।

सबैभन्दा बढी रुचाईएको

अब कक्षा १ मा

अब कक्षा १ मा
कक्षा १ पढन थालेँ नी म । सेन्ट मेरिज स्कुलमा छोरी कृपाको पहिलो दिन २९ अप्रिल २०१३

क्यामेरा, रोलिंग, एक्सन

क्यामेरा, रोलिंग, एक्सन
मित्र मिलन पौड्यालले कंचनपुरमा क्लिक गर्नुभएको तस्वीर

चन्द्रागिरी हाइकिङ

चन्द्रागिरी हाइकिङ
मित्र प्रमोद न्यौपानेले खिचिदिनुभएको तस्वीर
Powered by Blogger.

मैले कमाएको ~ मेरा मित्रहरु