- Back to Home »
- पत्रकार बिरेन्द्र साह हत्यापछि त्रासमा गुज्रिरहेको मध्य तराईको पत्रकारीता
Posted by : Anonymous
Thursday, 7 June 2012
स्वर्गिय पत्रकार साहका भाई संग कुराकानीगर्दै |
पिडा मिश्रीत अनुहार, जिम्मेवारी बोझले थिचिएको दैनिकी, जिवनसाथी गुमाएको सम्झनामा आँसु रित्तिएर फुस्रीएका आँखाहरु.......बारा कलैया ५ स्थित उमलावती देबी साहलाई भेटदा वहाँको यो अवस्था जो कोहीले सहजै आँकलन गर्न सक्छ । आफ्ना श्रीमान पत्रकार बिरेन्द्र साहको हत्या भएको साढे ४ बर्ष बितिसक्यो, तर हत्यामा संलग्न सबै अझै कारबाहिको दायरामा आउन सकेका छैनन् । यसले वहाँलाई थप पिडा दिईरहेको छ ।
२०६४ असोज १८ गते शुक्रबार, बारा पिपराबाट अपहरणमा पर्नुभएका दृष्टी साप्ताहिक,एभिन्युज टेलिभिजन र नेपाल एफ एमका लागी बारा जिल्लाबाट समाचार लेख्ने पत्रकार बिरेन्द्र साहको शव कार्तिक २२ गते बिहीबार, बाराको डुमरवना ७ टाँगीयावस्तीमा भेटियो । वहाँको हत्याले श्रीमती उमलावतीदेवीको जिवनमा अपुरणीय क्षति त भयो नै, संगै यसपछिका वहाँका दिनहरुपनि पनि सहज भएनन् । घरपरिबारको जिम्मेवारी, २ सन्तानको लालनपालन एवं शिक्षा सवै वहाँकै काँधमा आयो....शुरुमा त आश्वाशनको ओइरो लाग्यो...त्यसबाट बिभिन्न आशा पलाउनु स्वभाविक थियो उमलावतीदेवीलाई, तर त्यो पुरा नहुँदा समस्याका पहाडहरुले वहाँलाई थिचिरह्यो ।
पिडकलाई कारवाही, सन्तानलाई शिक्षा, आफुलाई घर चलाउने मेलो अनि पत्रकार श्रीमान बिरेन्द्र साहलाई सहिद घोषणा.....यीनैमाग थियो उमलावतीदेवीको.....तर आश्वाशनहरु धेरै पाएपनि आश्वाशन अनुसार सहयोग भएन् । दाजुकै बिँडो थाम्दै बिरेन्द्र साहको कलमलाई निरन्तरता दिन पत्रकारीताको पेशा अंगाल्नुभएका एभिन्युज टेलिभिजनका लागी बाराबाट कार्यरत बिरेन्द्रका सहोदर भाई भैयाराम साह पहिलेदेखी नै माओबादी सम्बद्ध ब्यक्तिहरुबाट दाईलाई बरोबर धम्की आउने गरेको बताउनुहुन्छ ।
स्वर्गिय पत्रकार साह |
संचारमाध्यममा पत्रकार बिरेन्द्र साहले बनबिनासका समाचारहरु सम्प्रेषण गरिरहेकै कारणलाई रिसइवीको रुपमा लिएर दाईको हत्या भएको भैयाराम साहले बताएपनि एकिकृत माओवादीले समेत छानविन समिति गठन गरि प्रतिवेदन सार्वजनिक गर्यो । जसमा पार्टीको निर्णय भन्दापनि पार्टीभित्र रहेका केही ब्यक्तिको ब्यक्तिगत रिसइवीका कारण घटना भएको कुरा आयो ,एकिकृत माओबादी बारा सेक्रेटरी विरोध शर्माको भनाई पनि त्यही छ ।
हत्या भैसकेर यत्तिका समय बितिसक्दा घटनाका मुख्य दोषी भनिएका ५ जनामध्ये लालबहादुर चौधरी,कुन्दन फौजदार,हरेराम पटेल जिल्ला प्रशाशनको नजरमा फरार छन् भने २ जना मनेजर गिरी र रामइकवाल सहनी घटनामा संलग्न प्रमाणित भै पर्सा कारागारमा सर्वस्व सहित जन्मकैदको सजाय काटिरहेका छन् । माओवादी सेक्रेटरी बिरोध शर्माले अगाडी भन्नुभएको कुरामा असहमत घटनाका दोषी मध्येका एक मनेजर गिरी भने यो घटना आफ्ना पार्टी बिरुद्ध सुराकी गरेको कारणले एकिकृत माओबादी पार्टीको निर्णय अनुसार नै हत्या गरिएको बताउनुहुन्छ ।
मनेजर गिरीकै कुरामा सही थाप्दै गिरीसंगै जेल जिवन विताईरहेका घटनामा संलग्न अर्का दोषी रामएकवाल सहनी पनि पत्रकार बिरेन्द्र साहसंग आफ्नो कुनै ब्यक्तिगत रिसइवी नभै आफुले पार्टीका नेताहरुको आदेश अनुसार लिएर गएको मात्र बताउनुहुन्छ ।
बिरेन्द्र साह हत्या प्रकरणमा जेल सजाय भोगिरहेकाहरुले आफ्नो ब्यक्तिगत रिसइवी नभै पार्टीको आदेश मान्ने क्रममा आफुहरु परेको बताईरहँदा उनीहरुलाई आदेश दिनेहरुलाई भने प्रशाशनले अहिलेसम्म पक्रन सकेको छैन् ।
घटनाका सबै दोषीलाई पक्राउ गरी कारवाही गर्न प्रहरी प्रशाशन लागिरहेको बताइएपनि पत्रकार साहको हत्या हुनु, हत्यामा संलग्न भनिएकाहरु सबै पक्राउ नपर्नु, पक्राउ परेकाहरुले पार्टी निर्णय भनिरहदाँ स्वयं एकिकृत माओवादी पार्टीले समेत घटनालाई ब्यक्तिगत कारण बताउनु ,फेरि आरोपीहरु पार्टीकै जिम्मेवार पदमा रहिरहनु र अहिलेसम्म कारबाहिको क्रममा नयाँ उपलब्धी हात नलाग्नुले अन्य पत्रकारहरुलाई समेत्र त्रासमय वातावरणमा समाचारहरु तौलेर प्रकाशन एवं प्रशारण गर्नुपर्ने अवस्था आएको नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष लक्ष्मी साहको अनुभव छ ।
नहुन हत्या भयो ....हत्यामा संलग्नलाई कारवाही हुनैपर्छ । नेपाल पत्रकार महासंघ बारा अध्यक्ष लक्ष्मी साहकै कुरामा सही थाप्दै यो घटनालाइ पाठको रुपमा लिनपर्ने र पत्रकारहरु स्वयंपनि सजग हुनपर्ने स्थिति आएको छिमेकी जिल्ला पर्सामा बसेर पत्रकारीता गरिरहेका संचारकर्मीहरु को ठहर छ ।
घटना पत्रकारीताको कारण होस् वा गैरपत्रकारीता.....जुनसुकै कारणले घटना भएपनि त्यसको पहिलो मार आम संचार क्षेत्र र संचारकर्मी पत्रकारलाई परिरहेको छ ....त्यही कारण हो मध्य तराईका जिल्लाहरु बारा, पर्सा, रौतहट, धनुषा, महोत्तरी, सर्लाही, सिराहा लगायतका जिल्लामा बसेर पत्रकारीता गरिरहेका पत्रकारहरुपनि फरक फरक पक्षबाट प्रत्यक्ष वा परोक्ष रुपमा बिभिन्न किशीमका धम्की तथा आक्रमण बाट त्रसित बनिरहेको अवस्था छ ।
स्वर्गिय पत्रकार साहका श्रीमती एवं सन्तान |
पत्रकार तथा संचारमाध्यम माथी बिभिन्न पक्षबाट हुने धाकधम्की तथा आक्रमणका घटनाको पहिलो प्रभाव पत्रकार स्वयं, त्यसपछि संचारसंस्था हुँदै आम नागरिकसम्म परिरहेको अवस्था छ ...सुच
नाहरु लुकाइएका अवस्था छन् । यो स्थितिबाट मुक्ती पाउनका लागी पत्रकारिता पेशालाई स्वच्छ र मर्यादत बनाउन पनि उत्तीकै जरुरी भैसकेको ठान्छन् स्वयं पत्रकारहरु ।
पत्रकारीतालाई औजारको रुपमा प्रयोग गर्ने वर्गको उपस्थितिको कारण पनि पत्रकारमाथी संकट उत्पन्न हुनेगरेको औंल्याउँदै पत्रकार माथी जोखिम हुनाको कारक पत्रकारीता नै हो होईन खोज्नपर्ने बेला आाएको बताउनुहुन्छ पत्रकार एवं स्तम्भकार चन्द्रकिशोर झा...र यही कारण ले नै पत्रकार र नागरिक समाजबिचको सम्बन्ध समेत सुमधुर हुन नसकेको वहाँको अनुभव छ ।
पत्रकारीतालाई औजारको रुपमा प्रयोग गर्ने वर्गको उपस्थितिको कारण पनि पत्रकारमाथी संकट उत्पन्न हुनेगरेको औंल्याउँदै पत्रकार माथी जोखिम हुनाको कारक पत्रकारीता नै हो होईन खोज्नपर्ने बेला आाएको बताउनुहुन्छ पत्रकार एवं स्तम्भकार चन्द्रकिशोर झा...र यही कारण ले नै पत्रकार र नागरिक समाजबिचको सम्बन्ध समेत सुमधुर हुन नसकेको वहाँको अनुभव छ ।
पत्रकार चन्द्रकिशोर झा कै कुरामा सहि थाप्दै नेपाल पत्रकार महासंघ मध्यमान्चल संयोजक महेश दास पत्रकारहरु आक्रमणको शिकार हुनमा स्वयं पत्रकारले आचारसंहिता पालन नगर्नु, संचारसंस्थाहरुले नियमित सेवा सुबिधा उपलब्ध नगराउनु र राज्यले सुरक्षा प्रदान नगर्नु जस्ता कारण जिम्मेवार रहेको बताउनुहुन्छ ।
नागरिक र पत्रकार बिच दुरी बढेपनि समग्र पर्साको सुरक्षा ब्यबस्थामा आएको सुधारले पत्रकारहरु पनि पहिलेको तुलनामा सुरक्षित रहेको बताउँदै पर्साका प्रमुख जिल्ला अधिकारी शंभु कोईराला एवं तत्कालिन एस पी रमेशप्रसाद खरेल एकैस्वरमा भन्नुहुन्छ ः तर पत्रकार आक्रमणका घटना बाट बच्न स्वयं पत्रकारकै ब्यबहार सच्चिन भने जरुरी छ ।
बाराका पत्रकार बिरेन्द्र साह हत्या प्रकरण ले पत्रकार साहमा आश्रीत वहाँका परिवारमा परेको समस्या त एकातिर छँदैछ, जसको सम्बोधन राज्यले गर्नैपर्छ । संगसंगै घटना भएको साढे ४ बर्ष बितिसक्दा पनि बिरेन्द्र साहको हत्यामा संलग्न भनिएका सबै दोषीहरुलाई पक्राउ गरि कारबाहि गर्नका लागी समेत प्रशाशनले आवश्यक चासो नदेखाउँदा मध्य तराईको समग्र पत्रकारीता सन्त्रास र स्वनियन्त्रणका बिचमा गुज्रिरहेको छ ....त्यहीँ भित्र पत्रकारीताका आडमा गलत क्रियाकलाप गर्नेहरुबाट समेत स्वयं पत्रकारहरु बच्नुपर्ने अवस्था छ । हत्याहिंसा कसैमाथी पनि हुनुुहुन्न ..अझ समाचार लेखेकै निहुँमा कसैबाट पत्रकारलाई धाकधम्की वा कुटपिट हुन्छ भने त्यसले स्वतन्त्र र निर्भिक समाचार सम्प्रेषणमा पक्कैपनि बाधा उत्पन्न गर्छ ....... जसको परिणाम, कानुनी राज्यको आशा गर्ने जो कोहीको लागि पनि सकरात्मक हुदैन । समाचार सम्प्रेषण गर्ने क्रममा पालना गर्नुपर्ने आचारसंहितालाई सबै पत्रकारले अक्षरशः ख्याल गर्नु त पर्छ नै साथै आगामी दिनमा यसप्रकारका घटनाहरु नदोहरिउन् भन्ने कुरामा राज्य प्रशाशन राजनैतिक दल र पत्रकार स्वयंले पनि ध्यान दिनु एकदम जरुरी देखिन्छ । स्वच्छ, निस्पक्ष र स्वतन्त्र पत्रकारीताका लागी सबैभन्दा पहिले पत्रकारहरु जिम्मेवार बन्नुपर्ने र पत्रकार आक्रमण का बिरुद्धमा राज्यलाई समेत जिम्मेवार बनाउनपर्ने अहिलेको आवश्यकता हो ।