Pages

Thursday, 21 August 2014

माइसेल्फ बरिष्ठ हस्त नमस्कार ! (फिलिङ बरिष्ठ भाग २ )

यो कार्टुनलाई यहाँ राख्ने अनुमति दिनुभएकोमा  @rabimishra  ज्यू लाई धेरै धेरै धन्यवाद ।
नयाँ सिनेमा बनाउन त्यति गारो नहोला जति पूरानो सिनेमाको सिक्वेल बनाएर पहिलेको भन्दा हिट बनाउन चुनौति छ । हुन त मपनि टुइटरमा पहिलादेखी कै बरिष्ठ नै हुँ भन्छु म आफुलाई । तर एकतारे बरिष्ठ ज्यूले फिलिङ बरिष्ठ लेखिदिएपछि आफ्नो बरिष्ठपन कहाँ कसरी पोखौं भन्ने औडाहा मलाई नी भाथ्यो । त्यै लेखौं सिकारुले चोर्यो भन्देलान, नलेखौं भित्रैदेखि बरिष्ठपन हुँडल्लिएर आइसक्याथ्यो । तै नि, एकतारे आफ्नै मुन्छे हुन् भन्ने लागेर फिलिङ बरिष्ठको सिक्वेल लेख्ने अख्तियारी मागेँ, सहर्ष दिए तिन्ले नी । अब झन ठूलो अन्यौलमा परेँ  । लेख्छु त भनिहालेँ कहाँबाट लेख्ने कसरी लेख्ने कताबाट शुरु गर्ने अनि कता लगेर टुंग्याउने । फेरि आफैंले आफैंलाई बरिष्ठ फिल गरिसकेपछि जे पायो त्यै लेखिहाल्नपनि त भएन भन्ने नी एकमनले सोचेँ ।



Picture by:  @Mee_BadBOy
सोच्दै गएँ । बरिष्ठ कसरी हुइन्छ ?  के के गर्नपर्छ यसकालागि ? धेरै उपायहरु बरिष्ठ एकतारे ज्युले वहाँकै ब्लगमा दिइसक्नुभएको थियो । अरुलाई बाल दिने, फलोवर्सको तुलनामा फलोईंग ह्वात्तै १० प्रतिशत वा सो भन्दा कम राख्ने, कसैले केही भनिहालेमा :D वा स्माइलीमात्र रिप्लाउने, अरुले हिँडीरहेको भन्दा उल्टोबाटो हिँडेर ट्विट गर्ने, टुइटरका अरुलाई मान्छे नगन्ने र आफुले नै टुइटर धान्या छु झैं गर्ने, आफुजस्तै बरिष्ठ आफुसंग जुध्न आएमा सुटुक्क DM पठाएर त्यता कुरो सामसुम पार्ने, केटीहरुलाई सुटुक्क फलोब्याक दिएर दोहरी खेलेर बस्ने अनि केटाहरुले गहन तर्क गरेपनि टाइमलाइन फोहर पारे भनेर बरिष्ठपन प्रदर्शन गर्ने आदी इत्यादी बरिष्ठपनका (दु)र्गुणहरु हुन् । माथिका करिब करिब सबैजसो (दु)र्गुणहरु मसंग करिब करिब थिए नै ।
तर पछिल्लोसमय यो भन्दापनि ठुलो ट्रायल दिनपर्ने रैछ आफुलाई बरिष्ठ प्रमाणित गराउन । त्यो के भन्देखिन, आफ्ना कुनै टुइट कम्तिमा १०० रिटुइट पुर्याउन नसकेसम्म बरिष्ठको लाइसेन्स नै नपाइने भएको रहेछ । होन्त । गाडी स्टार्ट गर्न, हाँक्न, मोडन, चलाउन, रोक्न जानेर मात्र लाइसेन्स नपाइने रहेछ, लाइसेन्सका लागि जसरी ट्रायल पास गर्नुपर्छ, बरिष्ठ प्रमाणित गर्न त्यसैगरी १०० रिटुइट अनिवार्य भैसकेको रहेछ, म बरिष्ठपनि यही भुँग्रोमा परेँ ।    
यस्सो आफ्नो टाइमलाइन यहाँबाट सर्च गरेँ, मेरा अत्याधिक रिटुइट भएका टुइटहरु के के छन् भनेर !  जम्मा २७ रिटुइट भएको रहेछ हाइएष्ट ।
थुइक्क जाँचाँ पास हुनपनि १०० मा गान्धिडिभिजनमा पर्न नी कम्तिमा ३३ त ल्याम्नपर्छ भने जम्मा २७ । ठाडै फेल भएँ । अत्याधिक निकृष्टताका साथ फेल भएँ । सर्वाधिक रिटुइटेड टुइट । मेरो । जम्मा २७ । भाउन्न भएर आयो । संसारै खसेझैं भयो । मेरो बरिष्ठपन गल्र्यामगुर्लुम ढल्यो । अब मैले आफुलाई प्रमाणित गराउनुपर्ने ठुलो जिम्मेवारी महशुश भयो, कम्तिमा एउटा टुइट १०० रिटुइट कटाएर भएपनि । युद्धैमा होमिनुपर्ने झैं लाग्यो । चर्चित भनाईं सम्झेँ M  प्रेम र युद्धमा जे पनि जायज छ । हो । मेरालागी यो अब युद्ध सरह नै भयो । यस्लाई जित्नका लागि जेपनि गर्न जायज छ । शारिरिक, मानसिक, सामाजिक, असामाजिक, यौनिक सबै रुपमा म तैयार भएँ । अब मैदानमा उत्रन मात्र बाँकी थियो । उत्रन त उत्रने तर हतियार त चाहियो नी । के हतियार अर्थात कुन टुइटलाई यो १००वाला कर्मकाण्डमा अगाडी सारौं । यसो माहोल बुझेँ टाइमलाइन १०० रिटुइट र बरिष्ठमै घुमिरहेको थियो । फ्याट्ट सम्झेँ M यि १०० रिटुइटेहरुको बिरुद्ध नै झक्कास् टुइट गर्छु अनि त्यसैलाई ल्याकतले भ्याएसम्मका तिकडम अपनाएर १०० रिटुइट कटाउँछु । फलतः सोही काम गरेँ ।  

https://twitter.com/Shikaruketo/status/501683239879053313
टुइट त गरेँ । यसैलाई हो १०० पुर्याम्ने भन्नेनि सुनिश्चित भयो । तर कसरी त ? कसरी पुर्याम्छस् सिकारु येल्लाइ १०० ? ठुलो प्रश्नको पहाड बनेर उभियो मेरासामु । एकघण्टा कुरेर हेर्दा नी ३० कटेन । गान्धी डिभिजन पासै हुनमात्रैपनी ३३ चाहिने अझ बरिष्ठ प्रमाणित हुन त दिल्ली दुरकी बात भनेझैं भयो मलाई । अझै ७० प्लस कटाउनुपर्ने थ्यो । तिकडमहरु के हुनसक्छन् सोचेँ । केही बरिष्ठ टुइटे मित्रहरुका पुराना अनुभब सम्झेँ, उनिहरुले के के गरे १०० रिटुइट पुर्याउन भन्ने तिनका म्ः का स्न्यापसट अहिले नी मैले सुरक्षित राखेको छु निजहरुले अनुमति दिए सार्वजनिक गर्नेछु यतैकतै पिक्चरका रुपमा राखेर । खैर, अहिलेलाई त्यो नकोट्याऊँ त्यता नलागो । यिनै अनुभवलाई आधार मान्दै  लागेँ ति सारा तिकडम अपनाउन ।

पहिलो, भएभरका चिनेजति दोहोरो कुराकानी भएका, भेटेका र अलि आत्मिय सम्बन्ध भएका टुइटेलाई DM पठाएर रिटुइट गर्न आग्रह गरेँ, केही बढ्यो ५० कट्याथ्यो शायद यो बेलासम्म । अब अझै ५० बाँकी ।  DM को रेस्पोन्स नगर्ने फेसबुक तिर अल्मलिरहेका केही टुइटेलाई फेसबुकमा म्यासेज गरेर रिटुइट गर्न आग्रह गरेँ । त्याँबाट नी खास्सै उपलब्धी नहुनेदेखेसी टाइमलाइनमै बेलाँबेलाँ त्यै टुइटमा कन्भरसेसन जोडेर अगाडी ल्याम्नथालेँ १०० कन्भरसेसन कटदापनि रिटुइट ५० तिरै झुन्डीरहेको थियो । भएन अब भनेर, टाइमलाइनमै मेन्सँदै रिटुइट गर्नुभो ? भनेर टुइटेलाई उक्साउँदैमात्र के थिएँ ? मान्ठा हजुरले पानिपेटमै भ्वाक्कै दिहाल्नुभयो :D
साँझ परिसक्याथ्यो । यस्तै करिब ८ बज्या हुँदो हो रातिको । मेरो मोबाइलमा कति रिटुइट पुग्यो भन्ने हेर्न मिलेन । झनै औडाहा भो । भाइ उज्जवललाई सोधेँ ।६० जति पुग्यो पारा आयो दाजु अब भने क्यार भनेँ तिन्ले । फोक्सोबाट फुलेर घाँटीसम्म आएको सास खुइय गर्दै बाहिर फालेँ । अलि आश पलायो । ल भाइ हो लगेरहो भनेर आग्रह गरेँ । बराहरुले त्यसपछिका केही घण्टा लागिपरे मलाई कथित बरिष्ठ प्रमाणित गराउन । धेरै लागे । लागेका मध्येपनि उज्जवल भाइ र खुस्कट भान्जाको योगदानको त गोर्खादक्षिण बाहु दिएपनि कमै हुन्छ । चिन्ता नगर केटा हो ब्यवस्था गरम्ला है त :D
भोलिपल्ट बिहान यस्सो हेरेँ ७९ रिटुइट भएको रहेछ । अझै २१ चाहियो । केही मित्रका डेक्सटप, केहीका ल्यपटप अनि केहीका मोवाइल छेऊ आफैं पुगेर आफ्नो यो टुइट रिटुइट गराम्न लागेँ । ८५ जति भयोक्यार । अब रह्यो १५ । अस्त्र करिब करिब सबै सकियो । युद्ध जित्न जेपनि जायज छ भन्ने स्टेटमेन्टलाई फेरि सम्झेँ र फकाउन थालेँ : यो टुइट रिटुइट गर्नोस फलोब्याक पक्का ।  हुनपनि करिब ४१०० प्लस फलोबरको धनी म जावो १०० रिटुइट नी पुर्याम्न नसक्दा त मेरो त इज्जतै धोबिखोलामा बग्ने भो नी भन्ने लाग्यो । त्योभन्दा नी अर्को कुरा म आफुलाई बरिष्ठ  प्रमाणितै गर्न नसक्ने भएँ । फलोब्याकको जालले केही काम गर्यो १०/१२ कति रिटुइट बढ्यो । प्रायसः त्योबेला रिटुइट गर्नेजतिलाई भकाभक फलोब्याक नी दिइहालेँ, अहिले दि रहुँ न त १०० त कटोस् पहिला त्यस्पछि अन्फलीदिउँला नी भन्ने बरिष्ठभाव त्यै बेला आएपनि अन्फलीहाल्या चै छैन है मित्रहरु । अन्फलोकै प्रसंगमा केहीलाई त मेरो यो टुइट रिटुइट गर नत्र अन्फलो÷ब्लक गर्छु भनेर धम्की समेत दिन पछि परिन । साम, दाम, दण्ड, भेद जानेसम्मका सबै तिकडम भ्याइसकेपछि कसोकसो गरेर पुग्नपुग्न लाग्यो बहुप्रतिक्षित १०० रिटुइट ।
कसोकसो गरेर पुग्नपुग्न लाग्यो । घाँटीमा आइसक्यो मुखबाट निस्केनभनेझैं भयो । अन्त्यमा आफ्ना केही फेक हेण्डल (जुन धेरै समयबाट निस्कृय झैं थेँ) बाट भएनी २÷४ रिटुइट बढाइहालेँ । कसोकसो १०० रिटुइट पुग्यो भन्ने खबर आयो ।

आहा....२४ घंटादेखीको मेहनत, तिकडम, चालबाजी सबै सफल भएको ठानेँ । १०० रिटुइट भयो भएन भनेर गन्नैमात्र त्यो टुइट करिब १००० पटक हेरेँथेँ होला कुल मिलाएर । भाइहरुलाई स्न्यापसट लिइदिन भनेँ भाइ उज्जवल र मुक्तिले त्यो लिइदिएर राखिदिए । १०० औं रिटुइट म गर्छु है दाजु भन्दैथिए मुक्तिले अर्कैले उछिट्याइदिएछ । त्यसपछि त के ? भित्रैबाट बरिष्ठबाद उर्लेर आयो । आफैंआफैं दंग परेँ । बुर्कुसी मारेर एक्लै उफ्रीएँ ।  तिकड्ममा साथ दिने सबैलाई मनमनै धन्यवाद भनेँ । यस आइ प्रुभ माइसेल्फ बरिष्ठ भनेर आफैंलाई भनेँ । यस् ! 'माइसेल्फ बरिष्ठ, हस्त नमस्कार !!'
(यो रमाईलोका लागि लेखिएको हो । कसैलाई केही पर्न गएमा बालै भएन नी । हैन्त बरिष्ठज्यूहरु हजुर बरिष्ठ हस्त नमस्कार :D)
   

10 comments:

  1. गफाडी दाइ ।

    ReplyDelete
  2. केटा मलाई चैं लास्टै धोखा भयो ! फलो ब्याक को आश मा ९० तिर पुग्दा मैले नी RT हानेको थिएँ तर कता को हुनु, फलो मरे गरे पो ! :)

    ReplyDelete
    Replies
    1. भो हजुर !! मागी मागी के छोराको बिहे गर्नु ! :)

      Delete
    2. मुख्य कुरो चैं छुटेछ ! ब्लग पढ्दा रमाइलो लग्यो ! आज सम्म संजिब सरको ब्लग पुरा पढ्न सकेको छैन, तपाई को one go मा ok भयो :D

      Delete
  3. This comment has been removed by the author.

    ReplyDelete
  4. बरिष्ठ हुनुको पराकाष्ठा नाघेर, जसरि हुन्छ, मेरा ट्वीट १०० RT पुराईदिनुस भनेर DM र मेंशन गर्ने प्रवृति लाई ठूलो शब्दबाण(satire) दिनुभएको छ पवन दाजु | हुनत ! म पनि बरिष्ठ हुम क्यार तर DM गरेर RT माग्ने निचतम कार्य गरिएन | शब्दमा दम छ भने आफैं १०० RT पुग्छन र १२०, भन्दा माथि Retweets संख्या बढ्छ ... @pearl_nepal प्रेममोतीको दमदार ट्विट " बा-आमा बिछ्यौनामा चिसोले खोक्दै हुनुहुन्छ,येस्तो झरीमा तिमी भिज्दै मन्दिर पुग्छौ, ति घरका भगवानलाई तातोपनि पिलाए कति धर्म हुन्छ, अबुझ | :) ...धन्यबाद :D

    ReplyDelete
    Replies
    1. सधै एकनासका भाषाशैलीका लेखोट पढिन्छ । यो लेखाइ फरक र रमाइलो लाग्यो । RT का लागि यस्तो कसरत पनि हुने रैछ भन्ने जान्न पाउनु मेरा लागि नौलो नै हो । युजर निकै अगाडि बनाए पनि ट्वीटरको टेस मलाइ बिस्तारै थाहा हुँदैछ ।
      ब्लग लेखन जारी रहोस् । शुभकामना

      Delete